वीरगन्ज । वीरगन्ज कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका एक कैदी फरार भएका छन् ।
बिहीबार बिहान कारागारभित्र सरसफाइ गर्ने क्रममा फोहोर फाल्न बाहिर निस्किएका कैदी पर्साको पोखरिया नगरपालिका निवासी सुनिल साह तुराहा कारागारको पर्खाल नाघेर फरार भएका हुन् ।
करिब ११ वर्षदेखि कैद सजाय भोगिरहेका तुराहा सरसफाइका लागि फोहोर फाल्न गएको मौका छोपेर पर्खालबाट हाम फाली भागेको पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लले पुष्टि गरे ।
कैदी फरार भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
फरार कैदीको खोजीका लागि जिल्लाका सबै नाकासहित विभिन्न शंकास्पद स्थानमा प्रहरी परिचालन गरी सर्च अभियान सुरु गरिएको डीएसपी मल्लले बताए ।
कारागारबाट कैदी फरार भएको घटनाबारे प्रहरीले थप अनुसन्धान तथा खोजतलास गरिरहेको जनाएको छ ।