वीरगञ्ज । पर्साको वीरगञ्ज कारागारबाट बिहीबार बिहान फरार भएका कैदी सुनिल साह भारतको आदापुरबाट पक्राउ परेका छन्।
पोखरिया नगरपालिका–सतवरिया निवासी साहलाई भारतीय क्षेत्र आदापुरबाट पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन्। पक्राउ परेका साहलाई अहिले वीरगञ्ज ल्याउने तयारी भइरहेको छ।
कारागारको सुरक्षा घेरा तोडेर फरार भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरीको टोलीले उनको खोजी तीव्र पारेको थियो। उनी भारततर्फ भागेको आशङ्कामा सीमावर्ती क्षेत्रमा निगरानी तथा सुरक्षा जाँचसमेत कडा पारिएको थियो।
यसअघि कैदी फरार भएको घटनाको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुष्टि गरेका थिए। साह कारागारबाट कसरी र कुन समयमा फरार भए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
कडा सुरक्षा व्यवस्थाबीच रहेको कारागारबाटै कैदी फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। घटनाबारे आन्तरिक छानबिनसमेत अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद चापागाईले बताएका छन्।