वीरगञ्ज । पर्सामा हुण्डी कारोबार नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको प्रहरी संगठनकै कर्मचारीहरू १६ लाख रुपैयाँको कथित हुण्डी कारोबार प्रकरणमा शंकाको घेरामा परेपछि जिल्ला प्रहरी कार्यालय पर्साभित्र हलचल मच्चिएको छ। भारतबाट हुण्डीको रकम लिएर नेपाल प्रवेश गरेका दुई युवक पक्राउ परेपछि आर्थिक चलखेलमा छाडिएको आरोप सार्वजनिक भएको छ।
प्राप्त स्रोतका अनुसार मंगलबार भारतको अदापुरबाट मोटरसाइकलमा सवार कलवार थरका दुई युवक १६ लाख रुपैयाँ नगद लिएर नेपाल प्रवेश गरेका थिए। नेपाल प्रवेश गरेलगत्तै प्रहरी चौकी इनर्वामा कार्यरत एक प्रहरी कर्मचारीले उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको बताइएको छ।
तर पक्राउ परेका युवकहरूलाई कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउनुको सट्टा आर्थिक चलखेलमा छाडिएको आशंका गरिएको छ। उनीहरू छुटेपछि रकमको खोजी गर्दै सम्बन्धित व्यक्तिहरू जिल्ला प्रहरी कार्यालय पर्सा पुगेका थिए। रकम कहाँ गयो भन्ने विषयमा सोधपुछ हुन थालेपछि घटनाले नयाँ मोड लिएको स्रोतको दाबी छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी पाएलगत्तै प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी सहायक निरीक्षक सम्शुदिन अन्सारी र अध्यागमन कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक सन्दीपकुमार साहलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाएका थिए।
स्रोतका अनुसार दुवै प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ गरिएको थियो। घटनामा १६ लाख रुपैयाँको वास्तविक अवस्था, पक्राउ परेका युवकहरू कसरी छुटे र प्रहरी कर्मचारीको भूमिका के थियो भन्ने विषय अनुसन्धानको केन्द्रमा रहेको बताइएको छ।
हुण्डी कारोबार नियन्त्रण गर्नुपर्ने प्रहरी कर्मचारीमाथि नै यस्तो आरोप लाग्नु सामान्य विषय होइन। यदि पक्राउ परेका व्यक्तिहरूलाई रकमसहित नियन्त्रणमा लिइएको थियो भने उनीहरूलाई कसको आदेशमा र कुन आधारमा छाडियो भन्ने प्रश्नको जवाफ प्रहरी प्रशासनले दिनुपर्छ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लसँग बुझ्दा उनले उक्त रकम क्रिप्टो कारोबारसँग सम्बन्धित रहेको दाबी गरे। प्रहरी देख्नेबित्तिकै सम्बन्धित व्यक्तिहरूले पैसाको झोला फालेर भागेको र प्रहरी चौकीका इन्चार्जहरूले घटनाबारे ढिलो जानकारी गराएकाले उनीहरूलाई जिल्ला बोलाएर सोधपुछ भइरहेको उनको भनाइ थियो।
तर प्रवक्ता मल्लको प्रतिक्रियाले घटनाबारे उठेका सबै प्रश्नको जवाफ दिन सकेको छैन।
यदि रकम क्रिप्टो कारोबारसँग सम्बन्धित थियो भने त्यसको आधार के हो? रकम फेला परेको हो भने त्यसको मुचुल्का तयार गरिएको छ कि छैन? पक्राउ परेका भनिएका दुई युवकको अवस्था के छ? प्रहरी कर्मचारीहरूले घटनाबारे समयमै जानकारी किन गराएनन्? यी प्रश्नको स्पष्ट जवाफ सार्वजनिक हुन आवश्यक छ।
यस प्रकरणमा अनुसन्धानलाई आर्थिक चलखेलमार्फत प्रभावित पार्ने र घटनालाई भित्रभित्रै मिलाएर सामसुम पार्ने प्रयास भइरहेको आशंकासमेत एक प्रहरी स्रोतले व्यक्त गरेको छ। यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
सामान्य नागरिक पक्राउ पर्दा तत्काल सूचना सार्वजनिक गर्ने प्रहरी प्रशासन आफ्नै संगठनका कर्मचारीमाथि गम्भीर आरोप लाग्दा स्पष्ट विवरण दिन किन हिचकिचाइरहेको छ भन्ने प्रश्नसमेत उठेको छ।