वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिका कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। गाउँपालिकाको कार्यालय रहेको हरिहरपुर बिर्तामा गएराति आगलागी हुँदा प्रशासन शाखा, स्वास्थ्य शाखालगायत विभिन्न शाखामा रहेका कम्प्युटर, फर्निचर तथा महत्त्वपूर्ण कागजात जलेर नष्ट भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पोखरिया र इलाका प्रहरी कार्यालय बिर्ञ्चीबर्वाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले आगलागीको प्रकृति, कारण तथा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान सुरु गरेको छ।
घटनाबारे जानकारी पाएपछि गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्तासहित केही वडाध्यक्षहरू पनि घटनास्थलमा पुगेका थिए।
आगलागी कसरी र किन भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त आचार्यले जानकारी दिएका छन्।
आगलागीबाट गाउँपालिकाको कार्यालयमा ठूलो भौतिक क्षति पुगेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा आगलागीको वास्तविक कारणबारे प्रहरी अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।