मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ अन्तर्गत सुकौरा सडकखण्डमा भएको विद्युतीय (इभी) गाडी दुर्घटनामा ज्यान गुमाएका चारै जनाको पहिचान खुलेको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक विद्युतीय गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकअन्तर्गत सुकौरास्थित सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नवलपरासी (पूर्व) कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाधाम नगरपालिका–४ धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह र बाराको परवानीपुर गाउँपालिका–३ का ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्। मृतकहरूको पहिचान उनीहरूसँग रहेको नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रका आधारमा गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङ्तान, चालक अमिर अन्सारी, कल्पना तामाङ र बबिया कुमारी यादव घाइते भएका छन्। स्याङ्तान, अन्सारी र तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा तथा यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये यादवको अवस्था मध्यम र अन्य तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।