काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुईजनाविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष ०८०/८१ मा सोताङ गाउँपालिकामा सञ्चालन भएको ९० कार्यदिनको ढाका सिलाइ–बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाएबापत उपाध्यक्ष राईले रु. ४५ हजार माग गरेको उजुरी परेको थियो। उक्त रकम उपाध्यक्ष राईले आफ्ना छोरा सुनील नाछिरिङ राईको बैंक खातामा रहेको क्युआर कोडमार्फत जम्मा गर्न लगाएको आरोप थियो।
उजुरीमाथि अनुसन्धान गर्दा उपाध्यक्ष अन्जु नाछिरिङ राईले आफ्नो पद तथा पदीय जिम्मेवारीको क्रममा गाउँपालिकाबाट सञ्चालन भएको ढाका बुनाइ तालिममा प्रशिक्षकको रूपमा काम दिलाए–दिलाउन लगाए तथा तालिममा सहजीकरण गरे–गराएबापत सेवाग्राहीबाट रु. ४५ हजार घुस/रिसवत लिएको आयोगको दाबी छ।
आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएको ठहर गर्दै राईविरुद्ध रु. ४५ हजार बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको जनाएको छ।
त्यस्तै, सुनील नाछिरिङ राईले उपाध्यक्ष अन्जु नाछिरिङ राईसँगको मिलेमतोमा सेवाग्राहीबाट रु. ४५ हजार घुस/रिसवतबापतको रकम लिएको र उक्त रकम उपाध्यक्ष राईसमेतका निमित्त उपलब्ध गराई प्रयोग तथा प्रचलनमा ल्याएको आयोगको आरोप छ।
सुनीलविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(२) बमोजिमको कसुरमा रु. ४५ हजार बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरिएको आयोगले जनाएको छ।
आयोगले दुवै प्रतिवादीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आरोपपत्र दायर हुनु अभियोजनको चरण हो। प्रतिवादीहरू दोषी ठहर भए–नभएको अन्तिम निर्णय अदालतको न्यायिक प्रक्रियाबाट हुनेछ।