पर्सा । जनता समाजवादी पार्टी (जसपा) का पर्सा जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा अध्यक्ष अहमद जसपा पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजालले अहमदलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।
जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका अहमद राष्टिय भूमी समस्या समाधान आयोग पर्साका निवर्तमान अध्यक्षपनि हुन् ।मधेस आन्दोलनदेखि मधेस केन्द्रित दलमा आबद्ध भई राजनीतिमा सकृय रहेका अहमद उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको जिल्ला सचिवको पनि जिम्मेवारी सम्हालेका थिए ।
मधेस आन्दोलन लगायतका राजनीतिक आन्दोलर्नबाट प्राप्त संघीयता, लोकतन्त्र लगायतका उपलब्धिहरु संस्थागत गर्ने काम कांग्रेसले मात्रै गर्न सक्ने भएकाले आँफु कांग्रेसमा प्रवेश गरेको अहमदले बताए । कांग्रेस बलियो भएमात्र संघीयता , लोकतन्त्र लगायतका उपलब्धीहरु संस्थागत हुनसक्ने आफ्नो बुझाइ रहेको भन्दै उनले देशले युवा नेतृत्व खोजिरहेका बेला अहिले कांग्रेस त्यसतर्फ अग्रसर भएका कारण पनि आँफुले कांग्रेस रोजेको बताए ।
पूर्वमन्त्री रिजालले शिक्षित र बौद्धिक युवा अहमदको पार्टी प्रवेशले अब पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेस थप मजबुत भएरु जाने विश्वास आँफुले लिएको बताए ।
कांग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नवीन सिंह, नेता बशीष्ठ नारायण कुर्मी , क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतकाको पनि उपस्थिती रहेको थियो ।