काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। केन्द्रीय कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएका केन्द्रीय सदस्यसरह हैसियत दिने निर्णय गरेपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।
बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका ५१ जना निवर्तमान केन्द्रीय सदस्य सहभागी हुने कांग्रेसले जनाएको छ। उनीहरूलाई केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार मनोनीत केन्द्रीय सदस्यको हैसियतमा बैठकमा सहभागी गराइनेछ। निवर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना), किशोरसिंह राठोरलगायत नेताहरू पनि बैठकमा उपस्थित हुने बताइएको छ।
सहमहामन्त्री उदयशम्शेर राणाका अनुसार विशेष महाधिवेशनबाट बनेको कार्यसमिति र सभापति गगन थापाले हालै मनोनयन गरेका १४औँ महाधिवेशनका केन्द्रीय सदस्यहरूको संयुक्त बैठक आज बस्न लागेको हो। उनका अनुसार देउवा पक्षनिकट ५१ नेता अब केन्द्रीय समितिमा सहभागी हुनेछन्।
ती नेताहरू केही दिनअघि संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी हुने सहमतिमा पुगेका थिए। गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला पक्षका नेताहरू पनि आजको बैठकमा सहभागी हुने भएका हुन्।
राणाले संस्थापनइतर पक्षका अधिकांश माग सम्बोधन भइसकेकाले अब छुट्टै भेला गरेर बसिरहनुपर्ने अवस्था नरहेको बताए। उनले सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने वातावरण बनेको दाबी गरे।
उनले शीर्ष नेताहरूलाई वडा अधिवेशनबाट निर्वाचित हुन कठिनाइ भए सभापतिले महाधिवेशन प्रतिनिधि मनोनयन गर्न सक्ने व्यवस्था रहेको संकेत गर्दै सबै पक्षलाई समेटेर अघि बढाइने बताए।
यसैबीच, असोज ३ र ४ गते हुने वडा अधिवेशनको तयारी पनि कांग्रेसले तीव्र बनाएको छ। यसपटक केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाइएकाले सबै नेताहरूले वडास्तरबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था लागू गरिएको छ।