पर्सा । पर्सा जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारी र प्रहरी हिरासतमा रहेका थुनुवाहरुको वीरगन्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगन्ज हेल्थ केयर हस्पिटलबीच पर्सामा कार्यरत प्रहरी कर्मचारी र हिरासतमा रहेका थुनुवाहरुको असोज १ गतेदेखि लागू हुने गरी १ वर्षसम्म निःशुल्क उपचार गर्ने विषयमा सम्झौता गरिएको छ ।
उक्त सम्झौता अनुसार, हरेक हप्ताको शुक्रबार अस्पतालका तर्फबाट चिकित्सकसहितको चार जनाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रहरी कर्मचारी तथा प्रहरी थुनुवाहरुको स्वस्थ्य परीक्षण निःशुल्क गर्नेछ ।
स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका थुनुवा र प्रहरी कर्मचारीलाई वीरगन्ज हेल्थ केयर हस्पिटलमै लगेर सरकारको स्वास्थ्य बीमा बोर्डद्वारा लागू गरिएको दररेटअनुसार उपचार सेवा उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ ।
यसैगरि उक्त सम्झौतापत्र अनुसार, आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम तथा डायलाइसिस सेवा पनि निःशुल्क उपलब्ध गराइने अस्पतालका अध्यक्ष तथा सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।

यस्तै प्रहरी कर्मचारी र थुनुवाहरुको नशा, मुटु तथा स्पाइनल इन्जुरी जस्ता जटील रोगको उपचारका लागि विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत नियमानुसार एक लाख रुपैयाँसम्मको उपचार छुट उपलब्ध गराइने अध्यक्ष अन्सारीले जानकारी दिए।
यसैगरि प्रहरीको न्यायिक हिरासतमा रहेका अभियुक्त (थुनुवा) लाई आकस्मिक स्वास्थ्य परीक्षण वा उपचार आवश्यक परेको अवस्थामा प्रहरी कार्यालयमै अस्पतालको चिकित्सक उपलब्ध गराई आकस्मिक स्वास्थ्य परीक्षणपनि निःशुल्क उपलब्ध गराइने अन्सारीले बताए ।
संविधान प्रदत्त नागरिकको स्वास्थ्य सम्बन्धी हकको संरक्षण र सम्बद्र्धन गर्दै न्यायीक हिरासतमा रहेका नागरिक तथा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले वीरगन्ज हेल्थकेयर हस्प्टिलसगँ उक्त सम्झौता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बताए ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा प्रहरी उपरीक्षक भट्टराई, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल तथा अस्प्तालका तर्फबाट अध्यक्ष अन्सारी र प्रशासन प्रमुख भूमीका अधिकारीको उपस्थिति रहेको थियो ।
