रौतहट । भारतको बिहार राज्यको मोतीहारीमा सडक दुर्घटनामा मृत्यु भएका युवकको शव प्रहरीले एम्बुलेन्स वा शववाहनको सट्टा ठेलामा राखेर अस्पताल पठाएको घटना सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी प्रशासनले तत्काल कारबाही गरेको हो ।
बिहारको रघुनाथपुर बस स्ट्यान्डनजिकै शनिबार बसको ठक्करबाट तुरकौलिया पश्चिमी पञ्चायतअन्तर्गत मठवा गाउँका उमेश कुमारको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी गस्ती टोलीले शवलाई ‘जुगाड ठेला’मा राखेर पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो ।
मृतकको शवलाई यसरी असम्मानजनक र अमानवीय ढंगले ओसारिएको दृश्य सार्वजनिक भएपछि मृतकका आफन्त तथा स्थानीय आक्रोशित भएका थिए । उनीहरूले सडक अवरुद्ध गर्दै प्रहरीको लापरवाहीप्रति विरोध जनाएका थिए ।
अवस्था तनावपूर्ण बनेपछि सदर डीएसपी–१ दिलीप कुमार घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएका थिए ।
घटनालाई गम्भीर रूपमा लिँदै मितीहारी जिल्ला प्रहरी प्रमुख आईपी एस अफिसर एसपी स्वर्ण प्रभातले छानबिनपछि रघुनाथपुर प्रहरी चौकीको गस्ती टोलीमा कार्यरत सई अम्बिका यादवलाई तत्काल प्रभावबाट निलम्बन गरेका छन् । साथै, रघुनाथपुर थानाध्यक्ष धनञ्जय कुमारसँग समेत घटनामा भएको लापरवाहीबारे स्पष्टीकरण मागिएको छ ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन प्रहरीको नियमित जिम्मेवारीभित्र पर्छ । स्रोत–साधनको अभाव वा तत्कालीन परिस्थितिलाई कारण देखाएर मृतकको शवलाई सामान्य सामानझैँ ठेलामा राखेर पठाइनु प्रहरीको व्यावसायिकता र मानवीय संवेदनामाथि नै प्रश्न उठाउने घटना हो । यद्यपि घटनामा संलग्न प्रहरीमाथि तत्काल निलम्बनको कारबाही हुनु प्रशासनले लापरवाहीलाई सामान्य रूपमा नलिएको संकेत हो । तर यस्ता घटना दोहोरिन नदिन शव व्यवस्थापनका लागि पर्याप्त साधन, स्पष्ट कार्यविधि र घटनास्थलमा खटिने प्रहरीलाई मानवीय संवेदनासहितको व्यवहारसम्बन्धी प्रशिक्षण आवश्यक देखिन्छ ।