वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता जनार्दन सिंह क्षेत्रीले केन्द्रीय सदस्य (खस आर्य) पदमा उम्मेदवारी दिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय क्षेत्रीले पार्टीको संगठन सुदृढीकरण, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा कार्यकर्ताको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
क्षेत्रीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको देखिन्छ। उनी वि.सं. २०४५ मा ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापति, वि.सं. २०४७ मा नेपाल विद्यार्थी संघ पर्साका सभापति तथा वि.सं. २०४९ मा तत्कालीन जिल्ला विकास समितिको उपसभापति बनेका थिए।
त्यसैगरी वि.सं. २०५४ मा जिल्ला विकास समितिको सभापति, नेपाली कांग्रेसको क्षेत्रीय सभापति हुँदै संगठनमा नेतृत्वदायी भूमिका, तथा नेपाली कांग्रेस पर्सा जिल्ला सभापतिको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।
क्षेत्री वि.सं. २०७९ मा मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने उनले मधेश प्रदेश सरकारका पूर्वमन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।
कांग्रेसको १५औँ महाधिवेशनलाई संगठनलाई थप बलियो र प्रभावकारी बनाउने अवसरका रूपमा लिँदै क्षेत्रीले अनुभव, संगठन र समर्पित नेतृत्वलाई प्राथमिकता दिन पार्टी प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।
उनको प्रचार अभियानमा “जनताको विश्वास, मेरो शक्ति” तथा “संगठन बलियो बनाऔँ, कांग्रेसलाई अझै बलियो बनाऔँ” भन्ने नारालाई अघि सारिएको छ।