वीरगञ्ज । निर्वाचन प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्ने विषयमा वीरगञ्जमा आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
एकाउन्टेबिलिटी ल्याब नेपाल (Accountability Lab Nepal–ALN) को आयोजनामा वीरगञ्जस्थित भिस्वा होटलमा आयोजित कार्यक्रममा निर्वाचन प्रक्रियामा युवाको सहभागिता, नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासमा युवाको भूमिकाबारे छलफल गरिएको हो।
कार्यक्रममा युवाहरूलाई निर्वाचन प्रक्रियामा केवल मतदाताका रूपमा नभई नेतृत्वकर्ता तथा निर्णय प्रक्रियाका सक्रिय साझेदारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइएको थियो। लोकतन्त्रलाई थप प्रभावकारी र समावेशी बनाउन युवाको सहभागिता बढाउनुपर्ने सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा निर्वाचन प्रक्रियामा युवाको पहुँच, नेतृत्व विकास, स्थानीय तथा संघीय तहमा युवाको भूमिका र लोकतान्त्रिक अभ्यासमा युवाले खेल्न सक्ने भूमिकाबारे विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रममा एकाउन्टेबिलिटी ल्याब नेपालका कार्यक्रम अधिकृत क्रमिक काफ्ले, कार्यक्रम सह–प्रबन्धक स्वस्तिका बस्नेत, कार्यक्रम अधिकृत अमरेश यादवलगायतको सहभागिता रहेको थियो। मधेसका विभिन्न क्षेत्रका युवाहरूको समेत कार्यक्रममा सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा युवाको नेतृत्व विकाससँगै निर्वाचन प्रक्रियालाई थप पारदर्शी, समावेशी र जवाफदेही बनाउन आवश्यक पहलका विषयमा समेत छलफल भएको थियो।