काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग नजिक मानिएका र नियमित सम्पर्क भएका व्यक्तिहरुका घरमा छापा हानेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा प्रहरी लगाएर विभिन्न व्यवसायिक तथा अन्य व्यक्तिहरुका घरमा छापा मारिएको हो ।
चोलेन्द्रका पारिवारिक केही सदस्यका साथै नवीन बस्नेत, दीपक तिमल्सिना र नारायण दाहाललगायतका व्यक्तिका घरमा अहिले पनि छापा मारेर प्रमाणहरू खोज्ने काम भइरहेको छ ।
त्यस्तै चोलेन्द्र शम्सेरको मोबाइलमा नियमित सम्पर्क रहेका केही कानून व्यवसायी तथा अन्य व्यक्तिहरूलाई पनि निगरानीमा राख्ने तथा छापा मार्ने काम भइरहेको स्रोतले जनाएको छ । सम्पत्ति शुद्धीकरणको टोली दिउँसो अचानक घरमा पुग्दा केहीका परिवारका महिला तथा ज्येष्ठ नागरिक सदस्यमात्र थिए भने केहीका घरमा ताला लागेको बताइएको छ ।
यसअघि राणा र जेलमा रहेका व्यवसायी दिपक भट्टसँग कनेक्सन देखिएको भन्दै इनाम सापकोटालाई पक्राउ गरिएको छ भने सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाललाई पनि यही प्रकरणमा निलम्बन गरिएको छ ।
सरकारले गत साता राणालाई मध्यराति घरबाट उठाएर हिरासतमा लगेको थियो । तर पछि उनको सुरक्षाका लागि लगिएको भन्दै पक्राउ गरेको कुरा अश्वीकार गरेको थियो ।