काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य गर्भगृह क्षेत्रमा प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।
पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले बुधबार उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउपछि दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।
केही दिनअघि प्रियंका र ओसीम पशुपतिनाथ मन्दिर परिसरमा पुगेका थिए। उनीहरूले त्यहाँ भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उक्त भिडियो चर्चामा आएको थियो। भिडियोमा ओसीमले मुस्लिम समुदायले लगाउने टोपी लगाएको देखिएपछि उनीहरूको मन्दिर प्रवेशलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न तथा प्रतिक्रिया आएका थिए।
घटना सार्वजनिक भएपछि सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत उनीहरूको मन्दिर प्रवेशबारे प्रश्न उठाएकी थिइन्। त्यसपछि पशुपति क्षेत्र विकास कोषले घटनाबारे प्रहरीमा जाहेरी दिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका ओसीम इटहरी–८ का स्थायी बासिन्दा हुन् र उनी इटहरीमा व्यापार व्यवसाय गर्दै आएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।