वीरगन्ज । वीरगन्जको नयाँ बसपार्क क्षेत्रमा इभीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ।
बुधबार बिहान बसपार्क सडकमा पैदल हिँडिरहेकी वीरगन्ज महानगरपालिका–१६ नगवाकी ४५ वर्षीया रीमा गुप्तालाई बा.प्र.०३–००१ ज ०७२० नम्बरको इभीले ठक्कर दिएको थियो। ठक्करबाट गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार दुर्घटनापछि प्रहरीले इभीसहित चालक सिन्धुलीको कमलामाई नगरपालिका–२ का रामकुमार कार्कीलाई नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।