वीरगञ्ज l नेपालीहरूको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मर्यादित, सुरक्षित, शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न गराउन जिल्ला प्रहरी कार्यालय, पर्साले विशेष सुरक्षा योजना लागू गरेको छ।
चाडपर्वको समयमा बजार, व्यापारिक क्षेत्र, सार्वजनिक यातायात तथा धार्मिक स्थलहरूमा मानिसहरूको चहलपहल र भीडभाड बढ्ने हुँदा जिल्लाको शान्ति सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन विशेष निगरानी, गस्ती तथा चेकजाँचको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले विभिन्न संवेदनशील स्थानहरूमा अतिरिक्त जनशक्ति परिचालन गरेको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चाडपर्वका बेला हुन सक्ने आपराधिक घटना, मादक पदार्थ वा मनोदिपक पदार्थ सेवन गरी सवारी चलाउने, जुवातास खेल्ने/खेलाउने, आतसबाजी गर्ने तथा ठगी जस्ता गैरकानुनी गतिविधि रोक्न सजगता अपनाइएको छ।
प्रहरीले सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित तरिकाले चाडपर्व मनाउन अनुरोध गर्दै कुनै पनि आपराधिक गतिविधि वा शङ्कास्पद व्यक्तिहरू देखिएमा तुरुन्त नजिकैको प्रहरी कार्यालयमा खबर गरी सुरक्षित समाज निर्माणमा नागरिक दायित्व निर्वाह गर्न हार्दिक अपिल गरेको छ।
प्रहरीलाई सम्पर्क गर्ने माध्यमहरू:
* प्रहरी कन्ट्रोल कक्ष: १००, ९८५५०९०१३६, ९८५५०९०३२९
* इमेल: [email protected]