वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ स्थित वीरगञ्ज पब्लिक इङ्गलिस सेकेन्डरी स्कुल (बीपीएस प्लस टु कलेज) का एकेडेमिक डाइरेक्टर दीपक पटेलले कलेजका विषयमा पछिल्लो समय विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीप्रति आपत्ति जनाएका छन्।
डाइरेक्टर पटेलले कलेजका शिक्षक तथा कर्मचारीसम्बन्धी विषयलाई वास्तविकता नबुझी गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको दाबी गर्दै समाचार प्रकाशनअघि सम्बन्धित पक्षसँग जानकारी लिन आग्रह गरेका छन्।
कलेजबाट केही शिक्षक बाहिरिएको विषयलाई लिएर विभिन्न चर्चा भएको भन्दै पटेलले उनीहरू व्यक्तिगत, पारिवारिक तथा समय व्यवस्थापनका कारण कलेजबाट अलग भएको स्पष्ट पारे। उनका अनुसार अनिस नाम गरेका शिक्षक व्यक्तिगत तथा पारिवारिक कारणले दिल्लीमा बसोबास गर्ने निर्णयपछि कलेजबाट बिदा भएका हुन् भने अशोक जैसवाल काठमाडौंमा बसोबास गर्ने योजनाका कारण अलग भएका हुन्।
त्यसैगरी, केही शिक्षक सरकारी विद्यालयमा समेत अध्यापनरत रहेकाले विद्यालयको समय परिवर्तन भएपछि कलेजको कक्षा समयसँग तालमेल मिलाउन कठिनाइ भएको पटेलले बताए। उनका अनुसार सरकारी विद्यालयहरू बिहानको समयमा सञ्चालन हुन थालेपछि राजेश्वर, वीरेन्द्र केसरी र दीपक खत्रीलगायत शिक्षकलाई कलेजमा नियमितता कायम गर्न समस्या भएको थियो।
समय व्यवस्थापनमा आएको कठिनाइका कारण सम्बन्धित शिक्षकहरूले कलेजमा निरन्तरता दिन नसक्ने जानकारी गराएपछि उनीहरूको व्यक्तिगत परिस्थितिलाई सम्मान गर्दै कलेजले बिदा दिएको पटेलको भनाइ छ।
उनले शिक्षकहरूको बिदाइलाई अन्य विषयसँग जोडेर संस्थाको प्रतिष्ठामा असर पर्ने गरी सामग्री सार्वजनिक गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। कलेजले शिक्षक तथा कर्मचारीसँगको सम्बन्धलाई सदैव सम्मान गर्दै आएको दाबी गर्दै व्यक्तिगत तथा व्यावसायिक कारणले कर्मचारीले लिने निर्णयलाई गलत अर्थ नलगाउन उनले आग्रह गरे।
पटेलले कलेजका सम्बन्धमा कुनै जिज्ञासा वा गुनासो भएमा आफू वा कलेज प्रशासनसँग प्रत्यक्ष सम्पर्क गरेर आधिकारिक जानकारी लिन सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्।
उनले आफू वीरगञ्जमै रहे पनि समाचार प्रकाशनअघि एकपटक पनि सम्पर्क नगरिएको गुनासो गर्दै एकतर्फी सूचना तथा अरूको भनाइका आधारमा संस्थाको प्रतिष्ठामा असर पर्ने सामग्री प्रकाशन गर्नु उचित नभएको बताए।
कलेजले अभिभावकविहीन विद्यार्थीलाई निःशुल्क अध्यापनलगायत सामाजिक तथा शैक्षिक गतिविधि गर्दै आएको उल्लेख गर्दै पटेलले सकारात्मक कामलाई बेवास्ता गरी केवल नकारात्मक विषयलाई प्राथमिकता दिइएकोमा पनि आपत्ति जनाए।
कलेजको प्रतिष्ठामा आँच पुर्याउने गरी तथ्यहीन वा भ्रामक सामग्री निरन्तर प्रकाशित भएमा आफू कानुनी प्रक्रियामा जाने चेतावनीसमेत पटेलले दिएका छन्।