सप्तरी । नेपालमा हरेक वर्ष करिब २० हजार मानिसलाई सर्पले टोक्ने गरेको र त्यसमध्ये करिब एक हजार जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । सप्तरीको राजविराजमा सोमबार फेयरमेडको साझेदारीमा सञ्चालित सङ्कल्प परियोजना अन्तर्गत सबल नेपालले आयोजना गरेको उपेक्षित उष्णप्रदेशीय रोग (एनटीडी) सम्बन्धी सञ्चारकर्मीसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क प्रस्तुत गर्दै जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले सर्पदंशबाट नेपालमा हरेक वर्ष एक हजार जनाको मृत्यु हुने गरेको बताउनुभयो ।
उहाँले मृत्यु न्यूनीकरण गर्न समयमै उपचार, विषालु सर्पको पहिचान र सर्पदंशबाट बच्ने उपायबारे समुदायस्तरमा सचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँका अनुसार नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजातिका सर्प विषालु छन् । सर्पले टोकेमा झारफुकमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्ने उहाँले बताउनुभयो । “सर्पले टोक्दैमा ज्यानै जाँदैन, धैर्यतापुर्व सर्पदंश उपचार केन्द्रमा गएर समयमै उपचार गराएर ज्यान जोगाउन सकिन्छ” उहाँले भन्नुभयो ।
कार्यक्रममा फेयरमेडकी सिनियर मिल अधिकृत रुषा उपाध्यायले सप्तरीका छ स्थानीय तहमा उपेक्षित उष्णप्रदेशीय रोगको पहिचान, उपचार र रोकथामका लागि कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
हनुमाननगर कंकालिनी नगरपालिका तथा विष्णुपुर, तिरहुत, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजगढ गाउँपालिकामा सञ्चालन भइरहेको परियोजनाले रोगीको खोजी, उपचारमा सहजीकरण र रोगबाट बच्ने उपायबारे समुदायमा सचेतना फैलाउने काम गरिरहेकोे उहाँले बताउनुभयो ।
उहाँका अनुसार कुष्ठरोग, सर्पदंश, हात्तीपाइले, लुतो, माटोबाट सर्ने जुका, रेबिज, कालाजार, डेंगु, फित्तेजुका, खस्रेरोग र माइसेटोमा गरी ११ प्रकारका रोगलाई परियोजनाले प्राथमिकतामा राखेको छ । तराई क्षेत्रमा यी रोगको जोखिम बढी रहेकाले लक्षित समुदायमा रोगको पहिचान, उपचार तथा रोकथामसम्बन्धी गतिविधि सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
विश्वका १४९ देशमा उपेक्षित उष्णप्रदेशीय रोग देखिएको उल्लेख गर्दै उपाध्यायले गरिबी, सरसफाइको कमजोर अवस्था र स्वास्थ्य सेवामा सीमित पहुँचका कारण यस्ता रोगको जोखिम बढ्ने गरेको बताउनुभयो ।
रोगको समयमै पहिचान र उपचारसँगै वातावरणीय सरसफाइमा ध्यान दिन सके यसको जोखिम न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।
अन्तरक्रिया कार्यक्रममा परियोजनाको परिचय र उद्देश्यबारे सबल नेपालका अशोक साह तथा परियोजना संयोजक रोहित उरावले जानकारी दिनुभएको थियो भने कार्यक्रममा उपेक्षित उष्णप्रदेशीय रोगको अवस्था, रोकथाम, उपचार र समुदायमा जनचेतना फैलाउन सञ्चारमाध्यमले खेल्न सक्ने भूमिकाबारे छलफल गरिएको थियो ।