वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्सा जिल्ला अधिवेशनबाट विजय कर्ण जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
नेपाली कांग्रेस पर्साका संयोजक कर्णको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पार्टीका केन्द्रीय निर्वाचन संयोजक डा. शशांक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं वरिष्ठ नेता विमलेन्द्र निधि, सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरी, नेता प्रकाशशरण महत र संविधानसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका पूर्वसभापति सहिदपुत्र राजेन्द्रबहादुर अमात्य विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. कोइरालाले १५औँ महाधिवेशन पार्टीलाई थप एकताबद्ध, सुदृढ र गतिशील बनाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँले वडा तहदेखि केन्द्रसम्म संगठन मजबुत बनाउन नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिँदै लोकतान्त्रिक मूल्य, आदर्श र सिद्धान्तलाई आत्मसात् गरी नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्नुपर्ने धारणा राख्नुभयो।
वरिष्ठ नेता निधिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर पारेर देशकै लोकतन्त्रलाई कमजोर बनाउने विपक्षीहरूको योजनालाई असफल पार्नु आफ्नो अभियान रहेको बताउनुभयो। उहाँले पार्टीको लोकतान्त्रिक मूल्य र संस्थागत प्रक्रियाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, सहमहामन्त्री उमाकान्त चौधरीले आफ्नो सम्बोधनका क्रममा गगन थापालाई लक्षित गर्दै १८ करोड रुपैयाँमा कांग्रेस किन्ने योजनाबारे टिप्पणी गर्नुभयो। उहाँको उक्त अभिव्यक्ति कार्यक्रमको चर्चाको विषय बनेको थियो।
अधिवेशनमा पार्टीको वर्तमान अवस्था, सांगठनिक सुदृढीकरण, आगामी राजनीतिक कार्यदिशा तथा कांग्रेसलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सहभागी नेता तथा प्रतिनिधिहरूले संगठनलाई एकताबद्ध बनाउँदै जनतामाझ पार्टीको उपस्थिति बलियो बनाउनुपर्ने धारणा राखेका थिए।
कर्ण सर्वसम्मत रूपमा जिल्ला सभापतिमा निर्वाचित हुनुलाई पार्टीभित्र सहमति, सहकार्य र एकताको सकारात्मक सन्देशका रूपमा लिइएको छ। नेपाली कांग्रेस वीरगंज महानगर सभापति मनोजकुमार साहले सर्वसम्मत नेतृत्व चयनले पर्सामा पार्टी संगठनलाई थप मजबुत र गतिशील बनाउन सहयोग पुग्ने बताउनुभयो।
उहाँले पार्टीलाई थप संगठित र जनतामाझ प्रभावकारी बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।