वीरगन्ज १ पुष : प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं ६ बाट विभिन्न प्रकारका चाँदीका गहनासहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज–६ स्थित सुनिताकुमारी सर्राफको घरबाट ६५ किलो चाँदीका गरगहना बरामद गरेको छ । सर्राफकै नाममा उक्त घरमा में जय नरसिंह ज्वेलर्स सञ्चालनमा छ । अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सुनिताको पति दिपक सर्राफलाई पक्राउ गरेको छ । उनी भारतीय नागरिक भएको प्रहरी दावी छ । ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको अवस्थामा चाँदी फेला परेको थियो ।
चाँदीको अवैध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले हिजो छापामारी गरेको थियो । भारतबाट राजश्व छलेर ल्याइएका चाँदीका विभिन्न प्रकारका गहनाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कोठाको फल्स वालभित्र लुकाएर राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।