काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार गठन प्रक्रियाको छलफलमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आफूलाई सहभागी नै नगराएको बताउनुभएको भएको छ ।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा सोमबार बोल्दै थापाले आफ्नो निवासमा बसेर प्रधानमन्त्री देउवाले सीमित मानिसलाई राखेर सो विषयमा छलफल गरेको परिणाम कांग्रेसले भोग्नु परेको बताउनुभयो । छलफलको लागि देउवाको फोन कतिबेला आउनुहाेला भनेर प्रतीक्षा गरेर बस्दा पनि फोन नआएपछि निराश भएर पोखरा तर्फ लागेको उहाँले सुनाउनुभयो । पार्टी सभापति देउवाले आफूहरूलाई अपमानित गरेको उहाँले गुनासो गर्नुभयो । ‘मोरो पार्टी सभापतिको कल कतिखेर आउँछ भनेर म कुरेर बसेँ’, उहाँले भन्नुभयो ।
आइतबार दिउँसो दुई बजेसम्म पनि पार्टी सभापतिको फोन नआएपछि आफू पोखरातिर लागेको उहाँले सुनाउनुभयो । ‘हामी दुई जना पार्टीका महामन्त्री, म अहिले सांसद पनि हो, शेरबहादुर देउवा संसदीय दलको नेता हुनुहुन्छ, पार्टी विधानको हिसाबले पार्टीका महामन्त्री संसदीय दलका पदेन सदस्य हुन्छन्’, उहाँले भन्नुभयो ।
देउवाले पहिले पार्टीभित्र छलफल गरेर त्यसपछि गठबन्धनको बैठकमा निर्णय गर्ने भन्नुभएको भएको कुरा समाचारमा सुनेको भए पनि पार्टीमा कुनै छलफल नै नगरेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले पार्टी कार्यालयमा बैठक र छलफल नै नराखेको बताउनुभयो । घरमा राखेको बैठकमा नबोलाई जाने कुरा नभएको उहाँले बताउनुभयो । ‘घरमा नबोलाई जाने कुरा भएन’, उहाँले भन्नुभयो ।
आइतबारको घटना लुँडो खेलमा ९९ मा पुगेको गोटी एकै पटक तल झरेको जस्तो भएको उहाँले बताउनुभयो । त्यसको जिम्मेवार पार्टी सभापति शेरबहादुर देउवा नै भएको उहाँले सुनाउनुभयो ।