वीरगन्ज । काठमाडौबाट पोखराको लागि उडान भरेको यती एयर लाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ । सोमबार साँझ अपन राधेमाई युवा क्लबको आयोजनामा वीरगन्ज १३ राधेमाई चौकमा कल्बका पदाधिकारी तथा सदस्यहरुले दिप प्रज्वलित गरी मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
कल्बका अध्यक्ष पवन यादवले सम्पूर्ण कल्बका सदस्यहरुको तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतक परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भने भगवान सङ्ग प्राथना गरेका हुन् । दुर्घटनाको छानविन गरेर दुर्घटनाको कारण सार्वजनिक हुनुपर्ने कल्बका सदस्यहरुले मांग गरेका छन् । यस्तो दुःखद घटना दोहोरिन नदिन सम्बन्धित निकायले सतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ ।
मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।कल्बद्वारा आयोजित दिप प्रज्वलन कार्यक्रमा कल्बका सम्पूर्ण पदाधिकारी सदस्य लगायत राधेमाई टोलका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।