पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी पर्साको उपाध्यक्षमा मनोज कुमार गुप्ता निर्वाचित हुनुभएको छ । कमिटीको नवौँ जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार लालबाबु शेखलाई १६० मतअन्तरले हराउँदै गुप्ता उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा पदमा नवनिर्वाचित गुप्ताले ३ सय २६ मत प्राप्त गर्नुभएको थियो । छिपहरमाई गाउँपालिकामा घर भएका गुप्ता यसअघि एमाले जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो । यस अघिका जिल्ला सदस्य एवं प्रेस काउन्सिल नेपालका सदस्य , प्रेस चौतारी नेपालका पुर्ब उपाध्यक्षसमेत रहनु भएका शेखले १ सय ६६ मत प्राप्त गर्नुभयो । गुप्ता र शेखले आ-आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो ।
उपाध्यक्षसहित उपसचिवसमेतमा गुप्ता पक्ष विजयी भएका छन् ।
त्यस्तै, सचिवमा नवराज शर्मालाई ६ मतअन्तरले हराउँदै पत्रकार महेश दास विजयी हुनु भएको छ । दासले २ सय ३९ मत प्राप्त गर्नुभयो भने शर्माले २ सय ३३ मत प्राप्त गर्नुभएको थियो । उपसचिवमा रामकिशोर सिंह परागलाई ११ मत अन्तरले हराउँदै नबिजान मियाँ विजयी हुनुभएको छ । परागले १ सय १९१ मत प्राप्त गर्नुभयो भने मियाँले २ सय २ मत प्राप्त गर्नुभयो ।
सहसचिव महिलातर्फ सिता लामा निर्वाचित हुनुभएको थियो । आइतबार भएको मतदानमा पाँच सय ८५ जना सहभागी हुनुपर्नेमा पाँच सय ३३ जनाले मतदान गर्नुभएको थियो । निर्वाचित कमिटीको कार्यकाल तीन वर्षे रहने छ ।