काठमाडौं । सर्वोच्च अदालतले पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेलको पद रिक्त घोषणा गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अदालतले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म पटेललाई निर्वाचित पदमा साविकबमोजिम कामकाज गर्न नरोेक्न विपक्षीहरूलाई निर्देशन दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दको एकल इजलासले मिति २०८३ साल माघ ११ गते उक्त अन्तरिम आदेश जारी गरेको हो।
वि.सं. २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा संजय कुमार पटेल पर्साको कालिकामाई गाउँपालिका वडा नं. ३ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनलाई पार्टी त्याग गरेको आरोप लगाउँदै निर्वाचन आयोगले पद रिक्त रहेको घोषणा गरेपछि पटेलले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
निवेदक पटेलले आफू पार्टीप्रति पूर्ण रूपमा आबद्ध तथा समर्पित रहेको, कुनै राजनीतिक दल त्याग नगरेको र अर्को दलमा प्रवेशसमेत नगरेको जिकिर गरेका थिए। जनता समाजवादी पार्टीको केन्द्रीय समन्वय समितिको बैठकका निर्णयलाई आधार बनाएर आयोगलाई गरिएको पत्राचार तथा आयोगको निर्णयअनुसार गोरखापत्रमा प्रकाशित सूचनाबाट आफ्नो पद रिक्त घोषणा गरिएको भन्दै उनले उक्त निर्णय गैरकानुनी भएको दाबी गरेका थिए।
आफूमाथि कारबाही गर्दा सफाइको अवसरसमेत नदिइएको जिकिर गर्दै पटेलले निर्वाचन आयोगको निर्णय बदर गर्न मागसहित अदालतको शरण लिएका थिए।
सर्वोच्च अदालतले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगबाट भएको पद रिक्त घोषणा गर्ने निर्णय तथा सोसम्बन्धी सूचना निवेदकको हकमा कार्यान्वयन नगर्न, नगराउन र यथास्थितिमा राख्न आदेश दिएको छ।
साथै, निवेदकलाई आफू निर्वाचित पदमा साविकबमोजिम कामकाज गर्नबाट नरोक्न विपक्षीहरूका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ।
अदालतले विपक्षीहरूलाई आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा सम्बन्धित पक्षले आफू वा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नसमेत आदेश दिएको छ।