वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको लागि एक अर्बको प्याकेज ल्याउने स्वास्थय तथा जनसंख्या मन्त्री प्रदीप यादवले उद्घोष गरेका छन् । गृहनगर वीरगञ्जमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा नारायणी अस्पतालका लागि विशेष प्याकेज समावेश गराएको जानकारी गराए ।
देशैभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुको सुधार आफ्नो पहिलो प्राथमिकतामा रहेको मन्त्री यादवको भनाई छ ।
संघ, प्रदेश र स्थानीय तह तीनै तहका सरकार मातहतमा रहेका अस्पताल र स्वास्थ्य संस्थाहरुमा विद्यमान समस्याको सुधार गर्ने उनले बताए । उनले भने, ‘देशभरका सरकारी स्वास्थ्य संस्थामा सुधार ल्याउने मेरो हरसम्भव कोशीश रहने छ । त्यसका लागि मन्त्री पदको पदभार ग्रहण गरेलगत्तै पहिलो निर्णय नै ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने निर्णय गरेको हुँ ।’
देशभरका सरकारी स्वास्थ्य संस्थामा अहिले ६३ हजार जनशक्ति आवश्यक भएपनि अहिले ३० हजार मात्र जनशक्ति उपलब्ध रहेको उनले जानकारी गराए । अझै ३३ हजार जनशक्ति अपुग रहेकाले नागरिकको उपचारमा कठिनाई भइरहेको र सरकारले सेवा दिन नसकरिहेको उनको भनाई छ ।
साथै नारायणी अस्पतालमा उपचार गराउने बिरामीको उपचारका सम्पूर्ण विवरण रहने अनलाइन एपको व्यवस्था गर्न लागिएको पनि उनले जानकारी गराए ।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर शैलेश ठाकुरको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चित्तरन्जन साह, नेशनल मेडिलक कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक सहनबाज अन्सारी, जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल यादव लगायतको उपस्थिती रहेको थियो ।