वीरगञ्ज । पर्सा क्षेत्र नम्बर ३ (क) बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका प्रमोद कुमार जयसवाल मधेस प्रदेशको खेलकुद तथा समाज कल्याणमन्त्रीमा नियुक्त भएका छन् ।
शुक्रबार नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले गठन गरेको मन्त्रीमण्डलमा जयसवालले खेलकुदमन्त्रीको जिम्मेवारी पाएका हुन् । यसअघि, जयसवाल पूर्व मुख्यमन्त्री सरोज यादवको मन्त्रीमण्डलमा शिक्षा तथा संस्कृति मन्त्री थिए ।
गत चैत १० मा तत्कालीन मुख्यमन्त्री यादवले मन्त्रीमण्डल पुनर्गठन गर्दा जयसवाललाई शिक्षामन्त्रीमा नियुक्त गरिएको थियो ।
जयसवालले पर्सा क्षेत्र नम्बर ३ (क) मा स्वतन्त्र उम्मेदवारका रूपमा ७ हजार ३९० मत प्राप्त गरी विजय हासिल गरेका थिए । जसपा पार्टीले टिकट नदिएपछि, उनले स्वतन्त्र उम्मेदवारका रूपमा काउली चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष तथा जसपा नेता प्रदीप जयसवालका सहोदर दाजु प्रमोद कुमार जयसवाल चुनाव जितेपछि जसपामा प्रवेश गरेको समाचार बाहिर आएको थियो । तर, गत चैतमा शिक्षामन्त्री बन्ने क्रममा उनी एमालेमा प्रवेश गरेर मन्त्री बन्न सफल भएका थिए ।