वीरगन्ज । पर्साको जगरनाथपुर गाँउपालिका सिंचाई गर्न बनाइएको खोलाको साइफन(सहायक खोला) मा शुक्रबार नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जगनरनाथपुर गाँउपालिका वडा नम्बर १ पिडारी गुठीका जग्गा राउत गदीका छोरा ८ बर्षिय अब्दुल कलाम गदी रहेका छन् ।
पिडारीगुठि गाँउकै पश्चिममा रहेको चमरी खोलाको साइफनमा नुहाउने क्रममा डुबेर अब्दुलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए ।
प्रहरी निरीक्षक थापाका अअनुसार, शुक्रबार दिउँसो गाँउकै साथीहरुसंग अब्दुल साइफनमा नुहाउन गएका थिए । नुहाउने क्रममा अब्दुल डुबेपछि उनीसंगै रहेका साथीहरुले होहल्ला गरेपछि स्थानीयले उनलाई साइफनबाट निकालेपनि उनको मृत्यु भइसकेको थियो ।
मृतक बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।