सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्र मानवीय अतिक्रमणको दुष्चक्रमा पर्दा संकट पैदा भएको बताएका छन् । आइतबार चुरे संरक्षण दिवसको अवसरमा मिर्चैया नगरपालिका-७ हिल पार्क क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।
चुरे पर्वतीय प्रणाली तराई–मधेशको पानीको स्रोत हो, चुरे क्षेत्रमा भएका प्राकृतिक सम्पदाहरू यसको तल्लोतटीय क्षेत्र अर्थात् मधेशमा बस्ने जनसमुदायका लागि जीवनरेखा हुन्,' प्रधानमन्त्री दाहालले भने, 'तर आज जान वा अञ्जानमा चुरे संरक्षण क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरू मानवीय अतिक्रमणको दुष्चक्रमा परेका छन् । विस्तृत आयोजना प्रतिवेदन, इन्जिनियरिङ डिजाइन र वातावरणीय प्रभाव अध्ययन विना गरिने भौतिक पूर्वाधार विकासले चुरे पहाड श्रृङ्खला कमजोर भएको छ ।'
ढुङ्गा, गिट्टी, बालुवाको सङ्कलन र उत्खनन्ले चुरे क्षेत्रको दोहन बढेको बताउँदै प्रधानमन्त्री दाहालले नदी प्रणालीको वातावरणीय अखण्डतामा गम्भीर सङ्कट पैदा गरेको बताए । चुरे क्षेत्रमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अव्यवस्थित भौतिक पूर्वाधार निर्माण, भू–क्षय जस्ता कारण यसको संरक्षण दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ थियो ।