बीरगन्ज । साउन महिनाको अन्तिम सोमबार आज बीरगन्जको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवजीको पूजापाठ गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् ।
साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार ज्योतिष प्रेम प्रसाद सुवेदीले बताए ।
पर्साको दुग्धेश्वर महादेव मन्दिर (भाथाधाम) र बाराको काँटघाट लगायतका शिव मन्दिरमा श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ ।
बीरगन्जको चिनीमिल आवास क्षेत्र भित्र अवस्थित पशुपतिनाथ मन्दिरमा पूजापाठ गर्न हजार भन्दा बढी दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध देखिएका छन् ।
यस्तै बीरगन्जकै अलखिया मठमा पनि दर्शनार्थीहरुको घुँईचो छ । बिहानै देखि दर्शनाथीहरु नुहाईधुवाई गरी जल चढाउन त्यहाँ पुगेका छन् ।