जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मुलुकमा व्याप्त समस्याहरुलाई समाधान गर्ने अभिप्रायले दुई ठूला दल एक ठाउँमा आएर सरकार निर्माण गरेको बताएका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकारले देशलाई नयाँ आयामतर्फ लैजाने दाबी गरे ।
उनले १८ वर्षदेखि निष्कर्षविहिन रहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय अहिलेको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिँदा निष्कर्षमा पुग्न सफल भएको बताए ।
गृहमन्त्री लेखकले कांग्रेस र एमाले एकठाउँमा आएर महज सरकार निर्माणका लागि मात्रै नभई देशमा राजनीतिक स्थायित्व प्रदान गर्नुका साथै मुलुकमा विश्वासको वातावरणको सिर्जना भएको बताए ।