वीरगञ्ज । मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशका बालबालिकालाई कुपोषणबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभएको छ।
जनकपुरधाममा वर्ल्ड भिजनको सहयोगमा सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा आयोजित ‘मधेसमा पोषणको अवस्था तथा नकारात्मक हानिकारक अभ्यास’ सम्बन्धी छलफलमा मन्त्री शर्माले मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा बालबालिका बढी कुपोषित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो।
मन्त्री शर्माले अभिभावकहरूमा पोषणको महत्त्वबारे सचेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्दै, सचेत तथा पढेलेखेका अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई ‘जङ्क फुड’ खुवाउने प्रवृत्ति रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रममा मधेस प्रदेश, प्रदेश मामिला समितिका सभापति रत्नेश्वरलाल गोइतले कतिपय परम्परागत मान्यताहरू वैज्ञानिक रूपमा पनि लाभदायक हुने बताउँदै रोग प्रतिरोधात्मक क्षमता बढाउन तिनको प्रयोग गर्न सकिने धारणा राख्नुभयो। प्रदेश स्वास्थ्य निर्देशनालयका पोषण अधिकृत विनोद यादवले पाँच वर्षभित्र बालबालिकाको मानसिक विकास ९५ प्रतिशतसम्म हुने भएकाले सो अवधिमा पोषणयुक्त खानपानमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
मधेस प्रदेश सरकारले बालबालिकाको पोषण सुधार गर्न र कुपोषणको समस्यासँग लड्न विशेष अभियानको तयारी गरिरहेको छ, जसले प्रदेशमा बालबालिकाको स्वास्थ्य र भविष्य सुनिश्चित गर्न मद्दत गर्नेछ।