बीरगंज । उच्च अदालत जनकपुरधाम अस्थाइ इजलास वीरगञ्जका अभिलेख शाखामा कार्यरत एक जना कर्मचारीलाई जिल्ला प्रसाशन कार्यालय पर्साले ५ दिन कैदसहित ५ हजार जरिवाना गरेको छ ।
केहीदिन अगाडि उच्च अदालतको अभिलेख शाखामा कार्यरत खरीदार राधेश्याम कुशवाहाले आफनै गाउँका एक जना ७२ वर्षिय वृद्धलाई कुटपिट गरी अभद्र व्यवहार गरेका थिए ।
पीडित बृद्धले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाले कुशवाहालाई नियंत्रण लिई आवश्यक अनुसन्धान गरी सरकारी वकिलको कार्यालय फाइल पठाएका थिए ।
उक्त मुद्दामा गएको १८ गते जिल्ला प्रसाशन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश कुमार भुसालले अभद्र व्यवहार गरेको ठहर गर्दै कुशवाहालाई ५ दिनको कैद र ५ हजार जरिवाना हुने गरी फैसला गरेका हुन् ।
उनीसँगै कुटपिटमा संलग्न रहेका ३ जनालाई ६ हजार ५ सय मात्र जरिवाना गरिएको छ । स्रोतका अनुसार कुशवाहा उच्च अदालतका कर्मचारी भएको भन्दै गाउँघरमा धाकधम्की दिँदै आएका छन् ।