वीरगञ्ज । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा वीरगञ्ज भन्सार कार्यालयले १२ अर्बभन्दा बढी राजश्व संकलन गरेको छ। साउन महिनामा कार्यालयले कुल १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।
यस महिनामा आयातबाट चार अर्ब ९७ करोड ५२ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने मूल्य अभिवृद्धि करबाट चार अर्ब ५८ करोड ५६ हजार रुपैयाँ संकलन गरिएको छ। अन्तः शुल्कबाट भने ९४ करोड ४१ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
यद्यपि, भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई साउन महिनामा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य दिएको थियो, जुन लक्ष्यको तुलनामा २८ प्रतिशतले कम मात्र संकलन भएको हो।
साउन महिनामा वीरगञ्ज भन्सारबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थहरू जस्तै डिजेल र पेट्रोलको आयात भएको पाइएको छ। त्यस्तै, मोटरसाइकल, एलपी ग्याँस, जिप, कार, भ्यान लगायतका सामग्रीहरूको पनि मुख्य रूपमा आयात भएको छ। निर्याततर्फ जुस, फलामे पाता, पिना, जमोट कपडा लगायतका वस्तुहरूको निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ।