वीरगञ्ज । नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको संख्या दैनिक औसतमा ३ सयभन्दा बढी रहेको छ। अस्पतालका निमित्त मेसु डा. एनामुल हकले जनाएअनुसार, बिरामीहरूको चाप बढ्दै गएकाले अस्पतालमा जनशक्ति अपुग भएको छ।
डा. हकका अनुसार, आकस्मिक कक्षमा तीन सिफ्टमा चिकित्सक र परामेडिकल स्वास्थ्यकर्मीहरू खटिएका छन्। बिहान सिफ्टमा दुई जना, दिउँसो र रातको सिफ्टमा एक/एक जना चिकित्सक खटाइन्छन्। यस्तै, तीनवटै सिफ्टमा दुई/दुई जना परामेडिकल कर्मचारी पनि खटिएका छन्। तर, यो जनशक्ति बिरामीहरूको चापअनुसार पर्याप्त नभएको मेसु हकले स्वीकार गरे।
आकस्मिक कक्षमा जनशक्ति थप गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले भने, "हामीले यसको समाधानका लागि प्रक्रिया अगाडि बढाइसकेका छौं।"
नवनिर्मित आकस्मिक भवनको विषयमा पनि डा. हकले स्पष्ट पारेका छन्। उनले भने, “नवनिर्मित तीन तल्ले आकस्मिक भवन बिरामीहरूको सुविधाका लागि उपयुक्त नभएको कारण हालसम्म प्रयोगमा ल्याउन सकिएको छैन।” अस्पताल रोडको दुई भागमा रहेको भवनको बीचमा बिरामी सार्न कठिनाइ हुने भएकाले भवनलाई आकस्मिक उपचारका लागि प्रयोग नगरी सर्जिकल वार्डका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।