वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकास्थित सिर्सिया चौकबाट १ करोड ४५ लाखभन्दा बढी मूल्यका हार्डवेयर मालबस्तु लोड गरिएको ट्रक बरामद गरेको छ ।
पर्सा प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा साउन ५ गते बिहान साढे ८ बजे बा ५ ख ६७५ नम्बरको मालबस्तु लोड ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले टेन्टले ढाकेर राखिएको ट्रकलाई नियन्त्रणमा लिने क्रममा करिब १ करोड ४५ लाख १७ हजार ७ सय १ रुपैयाँ बराबरको हार्डवेयर सामग्री रहेको पुष्टि गरेको छ ।
ट्रकमा बिना भन्सार जाँच गरिएका हार्डवेयर सामग्री रहेको भन्दै, प्रहरीले विस्तृत अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ भने अवैध सामान ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको छ ।