वीरगन्ज । पर्सा ट्राफिक प्रहरीले बिदाको दिन अनुमतिविना चलाइएको पाँच सरकारी सवारी साधन नियन्त्रणमा लिएको छ । आज शनिबार सार्वजनिक बिदा रहे पनि विना इजाजत गुडाएको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
स्रोतका अनुसार पूर्वधार विकाश कार्यालय पर्सा लेखा प्रमुख शिवशंकर चौधरी चढ्ने मोटरसाइकल लगायत पालिका , स्वास्थ्य कार्यालयका मोटरसाइकलसहित पाँच वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको पर्सा ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले पुष्टि गरे ।
उनका अनुसार बिना अनुमति बिदाको दिन सरकारी गाडी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको गुनासो बढपछि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको आदेशमा गाडी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टले जानकारी गराए ।
स्रोतका अनुसार पर्सा ट्राफिक प्रहरीले वीरगंजको इन्डियन एमबेसि नजिक रहेको डी लाइट होटलमा खाजा खान आएको बेला उक्त मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
चाड पर्व सुरु भएको मोका छोपी सरकारी सवारी साधनको दुरुपयोग भएको देखिएपछि त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।