वीरगञ्ज । वीरगञ्ज महानगरपालिका – १४ बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि भर्ना भएका ४० वर्षीय युवक शिवनारायण साहको पेटबाट एक सिसाको बोतल निकालिएको छ । साह वीरगञ्ज -१८ भवानीपुरका निवासी हुन् ।
गत असोज १३ गते बिहान साहलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा पेटको एक्स–रे गर्दा सिसाको बोतल पत्ता लाग्दा स्वास्थ्यकर्मीहरू चकित भए । तत्पश्चात्, चिकित्सकहरूले तत्काल पेटको शल्यक्रिया गरी आन्द्रा काटेर उक्त सिसाको बोतल निकालेका थिए ।
करिब दुई हप्ता अस्पतालमा उपचार गराएर साह गत मङ्गलवार घर फर्किएका छन् । पेटमा सिसाको बोतल कसरी पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
पीडित साहसँग कुरा गर्दा उनले भने, “असोज १३ गते साँझ साढे ८ बजे मेरो होस खुलेको बेला मेरो मलद्वार र पेटमा पीडा भइरहेको थियो । चिकित्सकले मलाई भनेँ कि मेरो पेटमा सिसाको बोतल छ, तर त्यो कसरी पुग्यो भन्ने कुरा मलाई कुनै सम्झना छैन ।”
वडा प्रहरी कार्यालय श्रीपुरका निरीक्षक श्यामकुमार बस्नेतले पनि साहको पेटमा बोतल कसरी पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।