वीरगञ्ज। पर्सा जिल्लामा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का प्रक्रिया ढिला हुँदा अवैध उत्खनन जारी रहेको छ। जिल्लाका धेरै खोलामा ठेक्का नलाग्दा अवैध उत्खनन व्यापक बनेको हो। अहिलेसम्म जिल्लाका दुई मात्र खोलाको ठेक्का लागेको छ भने बाँकी खोलाहरूमा अवैध उत्खननले स्थानीय वातावरण र स्रोतसाधनमा नकारात्मक असर परिरहेको छ।
जीराभवानी गाउँपालिकाले आप्mनो सीमाभित्र पर्ने भलुवाही खोलाको ठेक्का असोज २३ गते सूचना जारी गर्दै अगाडि बढाएको छ, तर पटेर्वासुगौली गाउँपालिकाले भने आप्mनो सीमामा पर्ने भलुवाही र गादी खोलाको ठेक्का लगाउन सकेको छैन। पटेर्वासुगौली गाउँपालिका र सखुवाप्रसौनी गापाबीचको सीमाङ्कन विवादका कारण भलुवाही खोलाको ठेक्का प्रक्रिया अघि नबढेको इन्जिनीयर रामबाबू पटेलले जानकारी दिएका छन्।
पर्सागढी नगरपालिकाले कर्जनिया र सिंगाही खोलाको ठेक्का प्रक्रिया अगाडि बढाएको छ, तर जिल्लाका धेरै खोलाहरूमा ठेक्का लगाउन पालिकाहरू असफल भएका छन्। वातावरणीय परीक्षण प्रतिवेदनको प्रक्रिया जटिल हुँदा ठेक्का प्रक्रियामा ढिलाइ भएको इन्जिनीयर निर्मल सिंहले बताए। उनका अनुसार वन क्षेत्रमा पर्ने खोलाहरूको लागि डिभिजन वन कार्यालयको सिफारिश आवश्यक पर्ने र प्रदेश सरकारबाट वातावरणीय परीक्षण प्रतिवेदन प्राप्त नहुँदा प्रक्रिया अझै एकदेखि डेढ महिना लम्बिन सक्नेछ।
पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतका खोलाहरूको हकमा भने वन उपभोक्ता समितिमार्फत अमानतमा उत्खनन गरिरहेको छ। निकुञ्जका खोलाहरूबाट वन उपभोक्ता समितिले राजस्व बुझाएर उत्खनन गर्न पाउने नियम भए पनि अन्य वडाहरूले यसको फाइदा उठाउन नपाउने व्यवस्था गरिएको छ।
पर्सा जिल्लामा वीरगञ्ज महानगरपालिकासहित अन्य पालिकाहरूले ठेक्का लगाउन ढिलाइ गर्दा अवैध उत्खनन तीव्र रुपमा बढिरहेको छ। स्थानीय जनप्रतिनिधिहरूले ठेक्काबाट आन्तरिक स्रोतमा वृद्धि हुने भए पनि यसतर्फ चासो नदेखाउँदा समस्या गम्भीर बनेको छ।