वीरगञ्ज । पर्सा र बारा जिल्लामा सुनचाँदीको तस्करी बढ्दो क्रममा रहँदा प्रहरीले बिहीबार १४ किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ प्रस्टोकाका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका-८ गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले बिहीबार बिहान जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जमा सवारी साधनको चेकजाँच गर्दै गर्दा उनीहरूको साथबाट १४ किलो चाँदी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बरामद चाँदीको अनुमानित बजार मूल्य २५ लाख ४ हजार ९५० रुपैयाँ छ ।
वीरगञ्ज नाका र आसपासका क्षेत्रहरू सुनचाँदीलगायतका बहुमूल्य धातु तस्करीको मुख्य मार्गका रूपमा परिचित हुँदै गएका छन् । खुला सिमाना र सीमित निगरानीका कारण तस्करीलाई सजिलो बनाउँदै पर्सा र बारा क्षेत्र धातु ओसारपसारको केन्द्र बन्दै गएको छ ।
सुरक्षाकर्मीहरूले बारम्बार निगरानी बढाए पनि सुनचाँदीका तस्करहरूले नयाँ नयाँ तरिकाहरू अपनाउँदै तस्करीलाई निरन्तरता दिइरहेका छन् । यसै क्रममा, चेकजाँचका क्रममा यो चाँदी बरामद गर्न प्रहरी सफल भएको हो ।
प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा तस्करीमा संलग्न समूहहरूले वीरगञ्जलगायत नाकाहरूबाट भन्सार छल्दै धातु ओसारपसार गर्ने गरेको देखिएको छ । यस्ता घटनाहरू नियन्त्रण गर्न स्थानीय प्रशासनले सीमामा निगरानी र चेकजाँचलाई थप कडा पार्ने योजना बनाएको छ ।