वीरगन्ज । नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ, किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गर्दछ । पर्साको बिरगंज महानगरपालिकाको रजन्जयन्ती चौकमा निर्जल नामक खानेपानीको बोतलमा उपभोक्ताले किरा भेटेका छन् ।
स्वच्छ खानेपानीका लागि आजभोलि जार तथा मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि लेऊ, किराहरु भेटिएका घटनाहरु पनि धेरै चोटि सञ्चार माध्यममा आएका छन् । त्यस्तै आज हाम्रो ज्योति दैनिकको कार्यालयमा प्रयोजनको लागि मंगाइएको पानी निर्जल नामको सिल प्याक मिनरल वाटरमा किरा भेटिएको छ ।
वीरगन्ज महानगरपालिका -१६ बाट उत्पादित मिनिरल वाटरको शिलवन्दी बोतल भित्रको पिउने पानीमा किरा भेटिएको हो । निर्जलको कम्पनीबाट किनिएको मिनिरल वाटर जारभित्र सेतो र कालो रंगको किरा भेटिएको छ ।
यसरी आम उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको खानेपानीमा खुल्ला रुप मै लापरबाही भईरहेको छ । केही पैसाको लोभमा व्यवसायीहरुले गुणस्तरहीन पानीको उत्पादन तथा विक्री वितरण गरिरहेका छन् । जनताको स्वास्थ्यसगं खेलवाड गर्नेलाई कारवाही गर्नु पर्ने माग सर्वसाधारणहरुको रहेको छ ।
किरा भेटिएको पानीको जारको पानी प्रयोग गर्न सकिने उत्पादन मिति नै छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको मापदण्ड अनुशार पानीको न्यूनतम पीएच ६ देखि ७.५ प्रतिशत हुनुपर्दछ ।