वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पर्साको वीरगञ्ज भन्सार नाकाबाट आयात र निर्यात दुवै घटेको देखिएको छ।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा कुल एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार रुपैयाँ बराबरका मालसामान आयात भएका छन्, जसमा गत वर्षको सोही अवधिको तुलनामा ६.४३ प्रतिशतले कमी आएको छ। गत वर्ष यो अवधिमा एक खर्ब ५३ अर्ब ८० करोड ६३ लाख २१ हजार रुपैयाँ बराबरका सामान आयात भएका थिए।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यस वर्षको तीन महिनामा भर्खरै सम्पन्न मनसुन र वर्षाका कारण आयातमा कमी आएको हो। यद्यपि, यस अवधिमा समग्र राजस्व सङ्कलन भने बृद्धि भएको छ।
त्यस्तै, चालु आवको तीन महिनामा वीरगञ्ज नाकाबाट सात अर्ब ७६ करोड ३० लाख ५२ हजार रुपैयाँ बराबरका उत्पादन विदेश निर्यात भएका छन्। गत वर्षको सोही अवधिमा यो आँकडा आठ अर्ब ४६ करोड ७४ लाख ३४ हजार रुपैयाँ बराबरको थियो।