पर्सा । प्रहरीले वीरगन्जबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा मंगलबार राति साढे ११ बजेको समयमा वीरगन्ज महानगरपालिका– १४ गण्डकचोकबाट प्रहरीले नियमित चेकिङ गर्ने क्रममा बाराको महागढीमाई नगरपालिका–७ तेलकुवाका २० वर्षीय ओमबाबु कुशवाहा र २० वर्षीय शैलेश यादवको साथबाट लागुऔषध बरामद गरेको हो ।
वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्नेक्रममा उनीहरू समातिएका थिए । उनीहरुले झोलामा लुकाइ छिपाई ती लागुऔषध राखेका थिए ।
ओमबाबुको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी १ हजार ४ सय ८१ एम्पुल र शैलेशको साथबाट नुरफिन, डाइजेपाम र फेनारगन गरी १ हजार ५ सय १५ एम्पुल फेला परेको थियो ।
उनीहरुलाई बुधबार लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भई रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।