वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बेश्यावृती कार्यमा संलग्न सात १२ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा भन्सार वरीपरी रहेका विभिन्न होटलहरुबाट प्रहरीले सात जना महिला र पाँच जना पुरुष गरी १२ जनालाई पक्राउ गरेको हो ।
होटलहरुमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताको टोलीले अनुगमन गर्ने क्रममा १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनकाअनुसार वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाइ नेतृत्वको टोलीले ईनर्वा र भन्सार क्षेत्रका शंकास्पद स्थानमा र विभिन्न होटलहरुमा अनुगमन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
अनैतिक गतिविधि रोकथाम र समाजलाई सचेत बनाउने उद्देश्यले यो अनुगमन गरिएको प्रहरी निरीक्षक चौलागाइले बताए। स्थानीयको गुनासोका आधारमा र अपराध नियन्त्रणको पहलस्वरूप वडा प्रहरी कार्यालय विर्ताले प्रभावकारी कदम चालेको हो।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता भारतीले जानकारी दिए ।