जनकपुरधाम । स्रोत नखुलेको १९ लाख रुपैयाँसहित जनकपुरधामबाट तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी- ८ बस्ने २६ वर्षीय विष्णुदेव यादव, जनकपुरधाम उपमहानगरपालिका- ४ बस्ने २८ वर्षीय रमेश भन्ने रंजित कुमार यादव र धनौजी गाउँपालिका ७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका बिहीबार साँझ ४ बजेको समयमा जनकपुरधाम १२, कुवारामपुर बजार स्थित जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले पक्राउ गरेको हो ।
उनका अनुसार विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको ज १२ प ६४३ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा मोटरसाइकल चालक विष्णुदेव यादवले शरीरको विभिन्न भागमा रबरले च्यापी लुकाई-छिपाई राखेको अवस्थामा नेपाली रुपैयाँ १९ लाख बरामद गरिएको हो ।