जनकपुर । सप्तरी प्रहरीले सोमबार राति ठूलो मात्रामा लागूऔषध गाँजा बरामद गरेको छ। सप्तरीकाे राजगढ गाउँपालिका-४ बाट बालुवा र गिटीले भरिएको ट्रकबाट १७ क्विन्टल गाँजा फेला परेको हो।
गाँजा पहाडी जिल्लाबाट सप्तरी ल्याएर भण्डारण गरिने र कोसी नदी हुँदै भारततर्फ तस्करी गरिने योजनाअनुसार गिटी र बालुवाले भरिएको ट्रकमा गाँजा लुकाएर भारत लैजाने तयारी गरिएको थियो। गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा १७ क्विन्टल गाँजा बरामद भएको हो।
सप्तरीका विभिन्न स्थानहरू लागूऔषध गाँजाको तस्करीका लागि लामो समयदेखि प्रयोग हुँदै आएका छन्। यो क्षेत्र बालुवा र गिटी भण्डारण गर्ने स्थलको रूपमा परिचित छ। यहाँबाट गाँजा ट्रक, डुंगा, वा अन्य साधन प्रयोग गरी भारततर्फ पठाइने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
सप्तरी प्रहरीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी यस घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्ने बताएको छ।