बीरगन्ज । बीरगन्जको बाइपास सडकमा सोमबार साँझ एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। पानिटंकी चौक र होटल भिष्वाको बीचमा पर्ने सडकको पेटीमा अन्दाजी ५५–६० वर्षका जस्ता देखिने ती व्यक्तिलाई मृत अवस्थामा भेटिएको हो।
स्थानियहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक छानबिनका क्रममा मृतकको पहिचान राजेश कार्की भनेर खुलेको छ । उनी दैनिकजसो मागेर हिँड्ने व्यक्ति रहेको र कहिलेकाहीं होटलहरूमा काम गरेको पाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार मृतकको ठेगाना हालसम्म पत्ता लाग्न सकेको छैन। मृतकसँग सम्बन्धित अन्य विस्तृत जानकारी प्राप्त गर्न अनुसन्धान जारी रहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिको मृत्यु चिसोका कारण स्वास्थ्य समस्या भएर भएको हुनसक्ने आशंका गरिएको छ। यसबारे पुष्टि गर्नका लागि शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।