

रौतहट , असार ११
रौतहट जिल्लाको मौलापुर न.पा को ५औँ नगरसभा तनावका बिच सम्पन्न भएको छ । पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा शुरू भएको बजेट अधिवेशनमा उपप्रमुख गौरीशंकर जयसवालले ३६ करोड़ ६ लाख ५० हज़ार ५ सय बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो ।मौलापुर नगरपालिको पाँचौ नगर सभामा बिपक्षी गठबन्धन पार्टी जसपा,नेकपा माओवादी,नेकपा एमाले र नेपाली काङ्ग्रेसका स्थानिय कार्यकर्ताहरु द्वारा बजेटलाई जनताको रोहबरमा पारदर्शी गर्नु पर्ने माग राखी सडकमा बिरोध प्रदर्शन गरेका थिए र बिरोध प्रदर्शन गर्ने क्रममा प्रभु साह पक्षधर र प्रदर्शनकारीहरु बिच दोहरो झडप भएको थियो ।झडपलाई नियन्त्रणमा लिनको लागि प्रहरी द्वारा २३ वटा टियर ग्यास प्रहार र १४ राउण्ड हवाई फायर गरिएको थियो । प्रदर्शनकारी द्वारा गरिएको ढुंगा मुढा प्रहारबाट नेपाल प्रहरी तर्फ ९ जना र सशस्त्र प्रहरी तर्फ ३ जना गरी १२ जनासुरक्षाकर्मी घाईते भएका थिऐ। दुबै पक्षका कार्यकर्ताहरु बिच भएको झडपमा परि मौलापुर नपा बस्ने नेपाली काङ्ग्रेसका कार्यकर्ताहरु विवेक यादव,सिताराम यादव पथरा , जमुना राय यादव गम्हरिया,लडू साह सोनार मर्यादपुर,मर्यादपुर कै विवेक यादव,राजा यादवको टाउको फुटी घाइते भएका छन्।
प्रदर्शनकारीहरुको टाउको फुटेका कारण विवेक यादव र जमुना राय यादवलाई ५ वटा टाका लगाइएको छ ।विगत सोमबारका दिन मौलापुर नगरपालिकामा नेकपा माओवादीका नेता बिन्देश्वर यादवको नेतृत्वमा नेपाली कांग्रेस, जसपा लगायत अन्य बिरोधि गठबन्धनका पार्टी कार्यकर्ताहरु द्वारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहलाई ज्ञापन पत्र बुझाइएको थियो ।बिगत तीन वर्ष देखि आफ्नै पार्टी तथा कार्यकार्ताको रोहवरमा आफ्नो निजि स्थानमा नगर सभा गर्दै विकास योजनालाई समेत मनपरि रुपले संचालन गर्दै आईरहेको भनि निवर्तमान सांसद प्रभु साह र निजको श्रीमति उक्त नगरपालिकाका नगर प्रमुख रीना साहको कार्यशैलीको बिरोध गर्दै मौलापुर बजारमा विपक्षी दलका स्थानिय कार्यकर्ताहरुले सोमबारका दिन विरोध प्रदर्शन गरेका थिए।यसै गरी प्रभू साहका समर्थकहरुले पनि बुधबारका दिन मौलापुर नपा प्रमुख मेयर रिना साहको नेतृत्वमा "विकास विरोधी मुर्दाबाद" को नारा लगाउदै मौलापुरमा प्रदर्शन गरेको थियो ।दुबै पक्षको कार्यक्रम सम्पन्न पछि बुधबारको रातिमा ई.प्र.मौलापुर को पछाडि बासबाट बासको फठ्ठा, लठ्ठी प्रहरीको रोहबरमा तयार पारिएको भनि एमाले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य लाल बाबू साहले दाबि गर्नु भएको छ।हिजोको प्रदर्शन मार्फत शान्तिपूर्ण ढंगले नगर सभा कार्यक्रमको विरोध गर्ने तयारी गरिएको थियोे तर पूर्व मन्त्री प्रभु साहको निर्देशन अनुसार क्षेत्र नं २ का सांसद प्रत्यासि किरण साहले प्रदर्शनलाई दबाउनको निमित एक बस आफ्नो मान्छे मौलापुरमा झारेको तथा त्यस्तै क्षेत्र नं ३(ख) का निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले पनि ४ गाडी आफ्नो मान्छे लिई आएको दृश्य देखिएको भनि प्रदर्शनकारीहरूले दाबी गरेका छन ।
पूर्व मन्त्री प्रभु साहका समर्थकहरुले शान्तिपुर्ण गरिने प्दर्शनलाई दबाउनको लागि रातिमा बासको फठ्ठा,लाठ्ठी तयार गरी रोडमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरि रहेका ब्यक्तिहरुसँग झडपको सुरुवात गरिएको भनि नेकपा माओवादी पार्टीका केन्द्रीय नेता बिन्देशवर यादवको दाबी छ । शान्तिपुर्ण रुपमा भई रहेको प्रदर्शनलाई ई प्र का मौलापुरका प्रहरी निरीक्षक राकेश यादवको मिलोमतोमा दमन गरिएको ले निज प्रहरी निरीक्षक यादवलाई कारवाहीको लागि नेकपा एमाले रौतहट अध्यक्ष कमल राय यादवले डिएसपी भरत श्रेष्ठका अगाडि आग्रह गरेका थिए ।