जनकपुरधाम । महोत्तरीको औरही र गौशालाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रुपमा डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। डकैती गरेको आरोपमा चार जना भारतीय र दुई जना नेपाली नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारत सितामढीका ३० वर्षीय प्रमोदकुमार साह, प्रमोदकी श्रीमती सञ्जुदेवी साह, ५२ वर्षीय रन्धीर साह र २४ वर्षीय सुधीर भण्डारी रहेका छन्। यस्तै, गौशाला–९ का २८ वर्षीय ललन साह र गौशाला–६ का २६ वर्षीय राकेशकुमार यादव पनि पक्राउ परेका छन्।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले पक्राउ परेका ६ जनाविरुद्ध हातहतियार तथा खरखजाना, चोरी/डाँका, संगठित अपराधमा मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।
पक्राउ परेकाहरुको साथबाट पेस्तोल, नलकटुवा बन्दुक र गोलीसमेत बरामद गरिएको छ। उनीहरुले जबरजस्ती घरभित्र प्रवेश गरेर नगद तथा गरगहना लुटपाट गरेका थिए।