पर्सा , असार १७
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीले चोरीका मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ५ निवासी २२ वर्षीय आजाद मियाँलाई प्रहरीले चोरीको मोटरसाइकलको लक बनाउने क्रममा रंगे हात पक्राउ गरेको हो । सोही वडामा मोटरसाइकलको चावी लक बनाउन ग्यारेज पुगेको बेला उनीमाथि शंका लागेर सोधपुछ गर्दा उक्त मोटरसाइकल चोरीको भएको खुलेको हो । ना ३९ प ३८२४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल असार १४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगही निवासी कृष्ण शर्माले आफ्नै घरको आँगनमा पार्किङ्ग गरी राखेको अवस्थामा चोरी भएको थियो ।त्यसैगरी पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने रोज मोहम्मदको ना.२८प.१३३७ नम्बरको साइन मोटरसाइकल पनि मियाँले सोही दिन चोरी गरेको अनुसन्धानको क्रममा खुलेको छ । दुवै मोटरसाइकल नियन्त्रणमा लिई पक्राउ परेका मियाँमाथी चोरी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अगाडी बढाइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।