सिरहा , असार १८


प्रदेश नम्बर २ को सिरहा–धनुषा जोड्ने हुलाकी सडकखण्ड अन्तर्गत पर्ने कमला नदीको पुल निर्माण भई उद्घाटन नहुँदै भासिएको छ । नदीमा आएको अत्याधिक बहावसँगै १० वर्षदेखि निर्माणाधीन पुल विहीबार दिउँसो दुई फिट मुनी भाँसिएको हो ।सिरहाको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ । ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो । सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्थान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ ।धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पान र १३ वटा पायामध्ये सिरहातर्फबाट पूर्वपट्टी दोस्रो पाया भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए। कँडेलले भने 'पुलमा १२ वटा स्पान बनाइएको छ, जसमध्ये सिरहा तर्फबाट दोस्रो स्थान करिब दुई फिट तल भासिएको छ । यसमा गुणस्तरहीन कार्य भएको हुनसक्छ । ४२ महिनामा पुल निर्माण कार्य सम्पन्न गर्ने सम्झौतासहित पप्पु कन्स्ट्रक्सन र ज्यान जेभीले काम सुरु गरेका थिए। समयमा पुल निर्माण नभएको भन्दै पटक पटक म्याद थपिंदै आएको थियो ।पछि सो कन्स्ट्रक्सनले काम गर्न नसकेपछि लुम्बिनी बिल्डर्सले ठेक्का पाएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए। बिल्डर्सले ०७८ साल असार १३ गतेसम्म पुल निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता गरेको थियो ।चार सय ७० मीटर लम्बाई रहेको उक्त पुल भासिएपछि साउन दोस्रो साता उद्घाटन गरी यातायात सञ्चालन गर्ने योजना तुहिएको छ । तर हस्तान्तरण गर्न बाँकी रहँदा नै पुलको स्पान भासिनुले गुणस्तरहीन काम भएको हुनसक्ने देखिएको प्रमुख जिल्ला अधिकारी कँडेलले बताए।
तस्बिरहरु

